×

रसुवा डाँडागाउँ - काठमाडौं बस सेवा सञ्चालनमा


लाङटाङखबर/काठमाडौं - रसुवा जिल्लाको उत्तरगया गाउँपालिका वडा नं २ स्थित डाँडागाउँ – काठमाडौं बस सेवा सञ्चालनमा आएको छ । टिमुरे यातायात प्रा.लि. ले बस सेवा सञ्चालनमा ल्याएको उत्तरगया गाउँपालिकाका उपाध्यक्ष चमेली गुरुङले जानकारी दिएको छ ।

टिमुरे यातायात प्रा.लि.ले २०७७ साल कार्तिक २० गतेदेखि बस सेवा सञ्चालनमा ल्याएको छ । दैनिक रुपमा दुई वटा बस आवतजावत गर्ने गरी समितिले सेवा सञ्चालनमा ल्याएको उपाध्यक्ष गुरुङको भनाई छ । उनका अनुसार प्रत्येक विहान ८.३० बजे डाँडाँगाउँबाट काठमाडौंको लागि बस छुट्नेछ भने बिहान ९.३० बजे काठमाडौंबाट डाँडाँगाउँको लागि बस छुट्नेछ । बस सेवा सञ्चालनमा आए सँगै उत्तरगया गाउँपालिकाको वडा न.१,२ र ३ का स्थानियले बस सेवाको सुविधा पाउने भएका छन् ।

२०६१ सालबाटै सडक विस्तारको कार्य अघि बढेपिन गाउँमा बस सेवा भने यहि वर्षबाट सञ्चालनमा आएको हो । भौगोलिक विकटतासँगै सडक स्तरोन्नतिको कार्य राम्रो हुन सकेको थिएन । पुनरनिर्माण प्राधिकरणको बजेट परेसँगै सडक स्तरोन्नति राम्रो भएकोले यहि वर्षबाट बस सेवा सुरु भएको उपाध्यक्ष गुरुङले जानकारी दिएको छ । साथै यस बस सेवालाई मौसमी नभई १२ महिना नै चलाउने योजना रहेको उनको भनाई छ । टिमुरे यातायात प्रा.लिले सडकको अवस्था अवलोकन गरेको केहि दिनबाटै बस सञ्चालन सुरु गरेको हो । टिमुरे यातायात प्रा.लि डाँडाँगाउँमा ओम प्रकाश जोशीको अध्यक्षतामा १० जनाको समिति गठन भएको छ ।

यस अघि डाँडाँगाउँबासीलाई बस सेवा लिन नुवाकोट, किस्पाङ गाउँपालिकास्थित शान्तिबजार पुग्नुपर्ने बाध्यता थियो । गाउँमा बस सेवा सुरु भएसँगै उत्तरगया गाउँपालिकाका वडा नं १,२ र ३ का स्थानियमा भने छुट्टै खुशी छाएको छ ।

सम्बन्धित खवर