×

उत्तरगया गाउँपालिकामा महिलाको स्तरोन्नतिका लागि ढाका बुनाई तालिम सञ्चालन हुँदै


लोकेन्द्र तामाङ/भावना लामा

असार १५, लाङटाङखबर/रसुवा - उत्तरगया गाउँपालिकामा महिलाको स्तरोन्नतिका लागि ढाका बुनाई तालिम सञ्चालन भइरहेको छ । सोमबार वडा नम्बर ३ स्थित ठूलोगाउँमा आयोजित औपचारिक कार्यक्रम मार्फत उक्त तालिमको बारेमा जानकारी दिइएको हो । उक्त तालिम पूर्णिमा कार्यक्रम र गाउँपालिकाको सहकार्यमा आयोजना गरिएको हो । 

गाउँपालिका र पूर्णिमा कार्यक्रमको सहकार्यमा भएको उक्त ढाका बुनाई तालिममा प्राविधिक तर्फको सहयोगमा पूर्णिमा कार्यक्रम रहेको छ । तालिममा लाग्ने खर्च भने गाउँपालिकाको रहेको छ । गत जेठ २४ गतेबाट सुरु भएको यस तालिम असार २२ गतेसम्म सञ्चालन हुनेछ । तालिममा सहभागी भएका १७ जना प्रशिक्षार्थीका लागि खाजा खाना लगाएत प्रशिक्षकको शुल्क सबै गाउँपालिकाले नै व्यवस्था गरेको छ । 

गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) अन्तर्गत विपन्न परिवारलाई मध्यनजर गर्दै ढाका बुनाई तालिम सञ्चालन गरिएको हो । यस कार्यक्रममा तालिम लिएका प्रशिक्षार्थीलाई ढाका बुन्ने तान समेत वितरण गरिने गाउँपालिकाले जनाएको छ । यसरी तालिम लिइसकेपछि ढाका उनीहरुले उत्पादन गरेको सामाग्री बिक्रि नभएको खण्डमा बजार व्यवस्थापनको व्यवस्था गर्न समेत गाउँपालिकाले सहयोग गर्नेछ । यसका साथै व्यवसाय बिस्तारका लागि आर्थिक सहयोग चाहिएमा विभिन्न बैंक ताथ वित्तिया संस्थासँग कुरा गरी ऋणको व्यवस्था गरिदिने गाउँपालिकाले जनाएको छ । 

गाउँपालिकाले सञ्चालन गरेको यस तालिमले आफूहरुलाई आत्मनिर्भर बनाउनमा सहयोग गर्ने प्रशिक्षार्थीहरुको भनाई छ । 

वडा नम्बर ३ ठूलो गाउँका वडा सदस्य पूर्णबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको यस कार्यक्रममा प्रमुख अतिथिको रुपमा भने उत्तरगया गाउँपालिकाका उपाध्यक्ष चमेली गुरुङ रहेकी थिइन् । उपाध्यक्ष गुरुङका अनुसार महिलालाई सशक्तिकरण गर्नका लागि यो सिप प्रदान गरिएको हो । महिलाले आफूलाई शसक्त बनाउनका लागि आफ्नो निर्णय आफै लिनका लागि आर्थिक पाटो बलियो हुन आवश्यक रहेको उनको भनाई छ । यो कार्यक्रमलाई २, ३ महिना सञ्चालन गर्ने योजना भएपनि कोभिडका कारण पूरा नभएको उनको भनाई छ । 

वडा सदस्य गुरुङले देश तथा विदेशमा समेत ठूलो माग रहेको ढाका उत्पादन तालिम ठूलो गाउँमा सञ्चालन भएकोमा खुशी व्यक्त गरेका छन् ।

सम्बन्धित खवर