×

कङ्ग्रेस, १४ औ महाधिवेशनमा रसुवा बाट पहिलो चोटि केन्द्रीय कार्यसमितिमा मोहन आचर्य निर्वाचित ।


लाङटाङ खबर ,
२०७८ पुस ०५ सोमवार 

काठमाडौं । रसुवाबाट पहिलो पटक नेपाली कांग्रेसको केन्द्रीय प्रवेश भएको छ । यसपालि १६ जना नयाँ अनुहारले केन्द्रीय कार्यसमितिमा स्थान पाउँदा रसुवाका सांसद एवं इन्जिनियर मोहन आचार्यले उक्त नाम लेखाउन सफल भएका हुन्।कांग्रेस गठनको सात दशकपछि आचार्यले रसुवाको प्रतिनिधित्व गर्नेछन् ।

अहिलेसम्म रसुवाबाट कोही पनि केन्द्रीय कार्यसमितिमा पुगेका थिएनन् । रसुवाको विकासमा ठूलो टेवा पुर्याउँदै आइरहेका आचार्यले यसपटक अन्तिम समयमा बिना तयारी नै केन्द्रीय समितिमा उम्मेदवारी दिएका थिए । उनले आम नेपालीको जीवनस्तर उकास्नुका साथै स्वरोजगार मुलाक अभियान चलाउन उम्मेदवारी दिएको बताएका थिए ।


२०७४ सालको प्रतिनिधि सभामा निर्वाचित भएसँगै उनले ‘समृद्ध रसुवा’ निर्माण अभियान थालेका थिए । यसले राम्रै गति लिएको विश्लेषण भइरहेको छ । २०३३ साल चैत २९ गते रसुवाको लहरेपौवामा जन्मिएका आचार्य परिवारका कान्छा छोरा हुन् । काठमाडौंको सिद्धार्थ वनस्थलीबाट विद्यालयको शिक्षा पूरा गरेका आचार्यले राजनीतिक पाइला भने नेविसंघबाट चालेका थिए । 
उनले २०४६ सालको जनआन्दोलनमा नेपाल विद्यार्थी संघबाट आफ्नो भूमिका निर्वाह गरेका थिए ।

त्यसपछि उनले भारतको देहरादूनबाट उच्च शिक्षा हासिल गरेका थिए । साथै उनले फिलिपिन्सबाट सिभिल इन्जिनियरिङ गरेका थिए । 
इन्जिनियरिङ पूरा गरेर २०५६ सालमा स्वदेश फर्केपछि उनी निरन्तर कांग्रेसको राजनीतिमा छन् । उनी १३ औं महाधिवेशनका महासमिति सदस्य पनि हुन् । उनी आफूमात्र कांग्रेस भएका छैनन् रसुवामा अधिकांशलाई कांग्रेसी बनाएका छन् ।

नयाँ शक्ति पार्टीका धेरै नेतालाई कांग्रेसमा प्रवेश गराएका उनी संगठन विस्तारका लागि उदाहरणीय पात्र पनि बनेका छन् । 
उनले केन्द्रीय सदस्यमा निर्वाचित भएपछि ‘पोलिटिकल इन्जिनियरिङ’ को खाका पक्कै पनि राम्रो कोर्ने विश्वास मत दिएर जिताउने मतदाताको विश्वास छ ।

सम्बन्धित खवर