×

धार्मिक पर्यटनको सम्भावना बोकेको  रसुवाको भुमेश्थान प्रचार प्रसारको पर्खाइमा


फागुन १८, रसुवा । रसुवाको उत्तरगया गाउँपालिकास्थित वडा नं ३ मा रहेको भुमेश्थान प्रचार प्रसारको पर्खाइमा रहेको छ । भुमे र देवीकोे मन्दिर रहेको यस क्षेत्र वर्षाै पुरानो धार्मिक स्थल हो । 

भौगोलिक विविधता बोकेको रसुवा जिल्लामा अनगिन्ती  धार्मिक स्थलहरु रहेको  छ । जसमध्ये दैनिक रुपमा भक्तजनहरुको भिड लाग्ने  धार्मिक स्थल हो भुमेश्थान । यस मन्दिरमा आएर भाकल गर्दा चिताएको पुरा हुन्छ भन्ने मान्यता रहिआएकोले दिनहु पूजापाठका लागि श्रद्धालु भक्तजनको भिड लाग्ने गरेको छ । 

गुरुङ जातिको बाहुल्यता रहेको यस वडामा भुमे र देवीको पूजापाठ पनि गुरुङ जातिको पूजारीले नै गर्दै  आएका छन् । गुरुङ जातिको बाजे जिजुबाजेले नै यस स्थानमा भुमेथानको स्थापना गरिएको कथन रहेको स्थानिय बताउँछन् । सोही समयको आसपासमा  महिलाहरुले खनजोत गर्ने क्रममा देवीको थपना फेला परेपछि देवीथानको पनि स्थापना गरिएको बताइन्छ । कुनै समय उक्त क्षेत्रमा ठूलो तलाउ समेत रहेको थियो । उक्त तलाउमा लुगा धुने, फोहोर गर्ने गर्दा विरामी हुन थालेपछि छेउछाउका बस्ति मन्दिर वरिपरि छरिएको स्थानियको भनाई छ । 

ठूलो क्षेत्रफलमा फैलिएको यस भुमेश्थान वरिपरि ठूला ठूला कल्पवृक्षहरु रहेको छ ।  यस आधारमा पनि यो क्षेत्रमा शताब्दीदेखि नै धार्मिक पूजापाठ गर्दै आएको आंकलन गर्न सकिन्छ । छोरा नभएका, चिताएको पुरा नभएकाहरुले यस मन्दिरमा आई मागेमा सबै पूरा हुने जनविश्वास रहेको छ । साथै यस स्थानमा आई मागेको पूरा भएमा भाकल गरेको कुरा भने अनिवर्या चढाउनुपर्ने हुन्छ । भुमेथानमा  पाठी  र देवीथानमा भने बोका चढाउने प्रचलन रहिआएको छ । यस क्षेत्रमा विशेषत माघ मसान्तको दिन र ठूलो एकादशीको दिनमा भव्य मेला लाग्ने गर्दछ । उक्त मेला भर्नका लागि भने रसुवा जिल्लाको विभिन्न स्थान, छिमेकी जिल्ला नुवाकोट, गोर्खा, धादिङ, काठमाडौं लगाएतका स्थानबाट भक्तजनहरु आउने गर्दन् । साथै दैनिक जसो बत्ती बाल्ने, नारायण पूजा लगाउने, बलि  चढाउने जस्ता कार्य भने भइरहने गर्दछ । 

उत्तरगया गाउँपालिकाका अनुसार दैनिक जसो भक्तजनहरुको भिड लाग्ने यस स्थानलाई  थप व्यवस्थित बनाइएको । मन्दिर प्रवेशद्धार निर्माण, खानेपानी, सरसफलाई तथा विश्राम स्थलको निर्माण गरिएको छ । साथै  थप प्रचारप्रसारका लागि गाउँपालिका अनवरत रुपमा लागि परिरहेको पालिकाले जनाएको छ । 

सम्बन्धित खवर