धादिङमा एमाले ‘क्लिन स्विप’ : कलम र रुखको पल्लाभारी हुँदा प्रदेशमा राप्रपाको ईन्ट्रि !
धादिङ । यसअघिका निर्वाचनमा सँधैजसो विजयी हुँदै आएको नेकपा एमालेलाई यो निर्वाचन भने महँगो परेको छ । २०७४ को निर्वाचनमा नेकपा माओवादीसँगको गठबन्धन हुँदा नेकपा एमालेका तर्फबाट २ जना प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।
धादिङको निर्वाचन क्षेत्र नम्बर १ बाट खेम प्रसाद लोहोनी र २ बाट भूमि त्रिपाठी निर्वाचित भएका थिए । त्यस्तै प्रदेश सभा तर्फ डा. राम कुमार अधिकारी विजयी भएका थिए । तर, निर्वाचनमा भने धादिङमा नेकपा एमाले क्लिन स्विप भएको छ ।
एमालेबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार बनेका त्रिपाठी र लोहनी दुवै पराजित भएका छन् । लोहनीलाई सत्ता गठबन्धनका साझा उम्मेदवार रामनाथ अधिकारीले पराजित गरिदिए । झण्डै १० हजार मतान्तरमा अधिकारी निर्वाचित भएका छन् । त्यस्तै क्षेत्र नम्बर २ बाट यसअघि निर्वाचित भूमि त्रिपाठीलाई एकीकृत समाजवादीका उपाध्यक्ष तथा वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले हराइदिएका छन् ।
कलम चिन्ह लिएर निर्वाचन लडेका पाण्डेले ३५ हजार ९ सय ३४ मत प्राप्त गरे भने उनका प्रतिद्वन्दी भूमि प्रसाद त्रिपाठीले २७ हजार ९ सय ५३ मत ल्याए ।
प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर क बाट नेपाली कांग्रेसकै मदु कुमार श्रेष्ठ निर्वाचित भए । श्रेष्ठले १७ हजार ८ सय ३२ मत ल्याए भने उनका प्रतिद्वन्दी नेकपा एमालेका रमेश कुमार आचार्यले १६ हजार ५ सय ३८ मत पाए ।
प्रदेश खमा नेकपा माओवादी केन्द्रका उम्मेदवार शालिकराम जम्कट्टेलले विजयी हात पारेका छन् । उनले १९ हजार ९ सय ३ मत पाए भने उनका प्रतिद्वन्दी गजेन्द्र थपलियाले १२ हजार ४ सय ७८ मत प्राप्त गरे ।
निर्वाचन क्षेत्र नम्बर २ प्रदेश खमा पनि नेकपा एमाले तर्फका उम्मेदवार डा. राम कुमार अधिकारी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द लम्सालसँग पराजित भए । लम्सालले १९ हजार ४ सय १९ मत पाए भने अधिकारीले १६ हजार ४ सय २२ मत पाए ।
क्षेत्र नम्बर २ प्रदेश ख मा भने एमालेले आफ्ना उम्मेदवार धन बहादुर घलेलाई अन्तिममा निष्क्रिय बनाएर राप्रपाका उम्मेदवार डम्बर तामाङलाई समर्थन गरेको थियो ।
तामाङले भने नेकपा माओवादी केन्द्रका उम्मेदवार जगत सिंखडालाई पराजित गर्दै निर्वाचन जितेका छन् । तामाङले १४ हजार ४ सय ८१ मत ल्याएका छन् भने सिंखडाले १४ हजार ४ सय ५० मत ल्याएका छन् ।