शेखर समूहमा जुट्यो सहमति, देउवाविरुद्ध गगनले उम्मेदवारी दिने
लाङटाङ खबर
२०७९ पुस ५ सोमबार
लाङटाङखबर/काठमाडौं। नेपाली कांग्रेस संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध महामन्त्री गगन थापाले उम्मेदवारी दिने भएका छन् । डा. शेखर कोइरालासँग सोमबार र मंगलबार दुई दिन भएको छलफलमा गगनले देउवाविरुद्ध उम्मेदवारी दिने सहमति जुटेको हो ।
सोमबारको छलफल टुंगोमा नपुगेपछि आज बिहान पुनः कोइराला र थापा पक्षबीच छलफल भएको थियो । सो छलफलमा थापा संसदीय दलको नेताको उम्मेदवार बन्ने र कोइराला प्रस्तावक बन्ने सहमति भएको छलफलमा सहभागी एक नेताले जानकारी दिए ।
कांग्रेस संसदीय दलको निर्वाचनका लागि आज दिउँसो २ बजेदेखि ३ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ । बुधबार बिहान ८ बजेदेखि निर्वाचन हुनेछ ।गगन थापाको उम्मेदवारी दर्ताको तयारी गर्न कोइराला र थापा होटेल बसेरामा पुनः बस्ने नेताहरुले बताएका छन् । त्यसअघि आज बिहान साढे ८ बजेदेखि लाजिम्पाटस्थित होटल एम्बास्डरमा कोइराला र थापासहितका नेताहरुले छलफल गरेका थिए । छलफलमा नेता अर्जुन नरसिंह केसीलगायतका नेताहरु सहभागी थिए ।सोही होटलको एउटा छुट्टै कोठामा थापा, कोइराला, सञ्जय गौतम, रामनाथ अधिकारी लगायतले पनि छलफल गरेका थिए ।थापाले निर्वाचन अगाडि नै आफूलाई भावी प्रधानमन्त्रीको रुपमा प्रस्तुत गरेका थिए । निर्वाचन लगत्तै उनले संसदीय दलको निर्वाचनको तयारी थालेका थिए । तर कोइरालाले पनि दलको नेताको आकांक्षा देखाउँदै आफूलाई सघाउन थापालाई आग्रह गरेपछि उनीहरुबीच समझदारी जुट्न सकेको थिएन ।संसदीय दलको नेता पार्टीको तर्फबाट प्रधानमन्त्री बन्ने भएकाले कांग्रेस नेताहरु रस्साकस्सीमा छन् । देउवा समूहबाट पार्टी सभापति एवम् हालका प्रधानमन्त्री शेरबहादुर देउवा आफैं दलको नेताको उम्मेदवार बन्ने निश्चित छ ।