×

सेतो बाँदलसँग बसेको ‘त्यो माया’


भावना लामा

माघ २५,लाङटाङखबर/काठमाडौं- भर्खरै पानी परेर घामको न्यानो स्पर्षले तङ्ग्रीएको सफा, सुन्दर निलो आकाश । कतै हरियो, कतै पहेँलो भै फैलिएका फाँट बाफिएर बनेको सेतो बाँदल । घरी घरी डाँडासँग जीस्कीदै, हावाको झोक्कामा यताउता नाचेको । डाँडाँपाखासँग लुकामारी खेल्दै थरि थरिका आकार बनाउँदै आकाशमा उडेको त्यो सेतो बाँदलसँग माया बसेको पनि दुर्ई दशक कटिसकेछ ।

समय जति नै ढल्किदै गएपनि त्यो सेतो बाँदलसँगको माया भने अझै उस्तै छ । उस्तै माया जुन घरको आँगनबाट पानी परेपछिको सफा आकाशमा सेतै भै फैलिएको बाँदलसँग बसेको थियो । त्यो घर जहाँ मेरो जन्मसँगै बालापन बितेको थियो । पूर्व पश्चिम दुवैतिर ढोका हुने गरि दुईवटा घर जोडेर बनाएको त्यो घर । बिहानै घामको किरणलार्ई पूर्वी ढोका उघार्दै स्वागत गरिन्थ्यो । दिनभरीको थकान बिर्सदै अस्ताउन थालेको घामलाई पश्चिमी ढोकाबाट बिदा गरिन्थ्यो । अझै पनि कुनै कुनै रातको सपनीले त्यही घर आँगनमा पुर्यार्ईदिन्छ । अनि फेरी मायाको बारेमा त्यो सेतो बाँदलसँग मिठा मिठा बताचित सुरु हुन थाल्छ ।

बसन्त ऋतुसँगै पालुवा हालेको बोट बिरुवाले डाँडापाखा नै हरियो बनाउँदा मन साँच्चै आनन्दित हुन्छ । अनि त्यही पालुवालार्ई वयस्क बनाउन आकाशबाट पानीको छिटा बर्सिन्छ । पानीको बर्साइपछि जमिनबाट उडेको बाँफले बनाएको सेतो बाँदल थरी थरीका फुलका डालीहरुमा रम्दै आकाशतिर सोझिन्छन् । साँच्चै नै रोमाञ्चक देखिन्छ प्रकृति । घण्टौसम्म त्यो सेतो बाँदलको चर्र्तीकला हेरी बस्थे म । बाँदलसँगै लुकामारी खेल्थे, मिठो कुराकानी गर्थे । अझ बाँदलमाथि उडेको कल्पनामा एक्लै हराउँथे । बाँदलसँग खेल्ने मेरो यो बानी त्यसै लागेको भने होईन ।

‘मुमिन’ कार्टुन प्रकतिसँगको निकटता

भर्खर भर्खर विद्यालय जान थालेकी थिए । विद्यालय जान मन नलागेको दिन रोईदिन्थे । मेरो रुवाई देखेपछि भरे मुमिन कार्टुन हेर्न दिन्छु विद्यालय हिँड भन्ने दार्ई दिदीको फकार्ई आउँथ्यो । सुरुको दिनहरुमा मलाई फकाउन राम्रो माध्यम बनेको मुमिनले पछि पछि भने खुल्ला आकाशको बाँदलसँग  रमाउन सिकायो । मुमिनमा हेर्ने हरेक दृश्यहरुले प्रकृतिसँग नजिक हुन सिकायो । भाँडाकुडा खेल्दा मुमिनका कतिपय दृश्यहरुलाई नाटकिय रुपमा उतारेको यादहरु अझ पनि सम्झनामा ताजै छ । मुमिनकै माध्यमबाट सानैदेखि प्रकृति प्रेमि बनेकी मलार्ई सेतो बाँदलसँग भने छुट्टै खालको माया बसायो । हरेक समय पर्ने पानीले मलाई एक खालको पर्खाइमा राख्ने गर्दथ्यो । पानी परि सकेपछि खुल्न थाल्ने आकाशलार्ई नियाल्दै ब्यग्र प्रतिक्षा रहन्थ्यो सेतो बाँदलको । हिमाल, पहाड र समथर फाँटहरुलाई एकै नजरमा नियाल्न पाउने घरको आँगन मलार्ई हरेक समय प्यारो लाग्थ्यो । त्यही आँगनमा बसेर सेतो बाँदलसँग धेरै कुराकानी गर्थे, मनभरी रमाउँथे । त्यसै त रमाईलो बालापन, यी दृश्यहरु झनै रमार्ईलो बनार्ईदिन्थ्यो ।

यो बालापनको रमाईलो, प्रकृतिसँगको निकटता र बाँदलसँगको मायालार्ई भने काठमाडौं बसार्ईले झन्डै झन्डै टाढा बनाएको रहेछ । उच्च शिक्षा हाँसिल गर्ने उदेश्यले काठमाडौं छिरेको नौ वटा बर्षहरु वित्न लागेछ । काठमाडौंको धुवा, धुलोले सेतो बाँदल उड्नै नपार्ई कालो बनार्ई दिएको छ । ढुंगाको बगर जस्तै बनेका घरहरुले सेतो बाँदल बन्नलार्ई बाफ उड्ने ठाउँ नै बाँकी राखेको छैन । घरभित्रै रमाउनुपर्ने काठमाडौंको बसाईमा प्रकृतिसँग रमाउने त कल्पना मात्रै हो । सम्म परेका फाँटहरुबाट उडेको बाफले डाँडापाखा, पहाडका चुचुरोमा पुग्द सेतो बाँदलको रुप लिएको । हावाको वेगसँग उड्दै गणेश हिमाल, लाङटाङ हिमाल लगायतका हिमश्रृङखलाहरुमा लजाउँदै लुकामारी खेलेको दृश्य काठमाडौंको कोलाहाल र प्रदुषित वातावरणमा खोज्नु त मेरो मूर्खता नै हो ।

गोसार्ईकुण्ड यात्रा : बाँदलसँगको मायामा पुनर्मिलन

संयोग नै भन्नु पर्र्छ । एक्कासी गरिएको गोसार्ईकुण्ड यात्राले बर्षैदेखि गुमनाम रहेको बाँदलसँगको मेरो मायालार्ई पुनर्मिलन गरिदियो । माघको महिना, गोसार्ईकुण्ड यात्राको योजना बन्दा सुरुमा त गाह्रो हुन्छ जस्तो लागेको थियो । ४३८० मिटरको उचार्ईमा रहेको गोसार्ईकुण्ड यात्रामा चिसोले बाधा पुर्याउने हो कि भन्ने डर पनि थियो । तर प्रकृतिसँग रम्ने मनभरि रहर भएपछि ति डरहरु आफै हटेर गयो । 

गोसार्ईकुण्ड यात्रामा जब हामी विहानीको समय चन्दनबारी (सिङ गुम्बा) बाट उकाली लाग्न थाल्यौं । माईनसमा झरेको चिसोले धुम्म अध्यारो बनाएको थियो सबैतिर । तर जब ति धुम्म लागेको बादललाई घामले पन्छाउँदै किरण प्रवेश गराउन थाल्यो सबैतिर सफा देखियो । जति माथि उक्लिदै गयौं तेती नै रमनिय र सुन्दर देखिन थाल्यो प्रकृति । ताते घामले चरक्क पारेको प्रकृतिमा जब सेतो बाँदलको आगमन हुन थाल्यो रसुवा जिल्लाका सबै ठाउँहरु बाँदल मुनिको संसारमा हरायो  । हामी भने बाँदलमाथि रमाउँदै थियौं । हाम्रै पछि लाग्दै झन झन अग्लो पहाड चढ्न थालेको थियो बाँदल । सेतै टल्किएका लाङटाङ र गणेश हिमालको काखैमा लुक्न थालेको थियो त्यो सेतो बाँदल । म भने मेरै बालापनको सेतो बाँदलको यादमा हरार्ईरहेकी थिए । त्यो मायामा रमार्ईरहेकी थिए हर्षित थिए । मेरो हरेक पार्ईलाहरुमा सेतो बाँदलको छाँया थियो । जसले मेरा थाकेका खुट्टाहरुलाई अगाडी बढ्न झक्झकार्ईरहन्थ्यो । मन भित्रै देखि रमार्ईरहेको थियो । त्यो खुशी पोख्न म सँग कुनै शब्दहरु नै छैन । निक्कै बर्षदेखि सम्पर्क विहिन भएर हरार्ईरहेका दुर्ई प्रेमिको मिलनको घडी भन्दा कम थिएन त्यो समय । घण्टौसम्म सेतो बाँदलसग रमाउने म बर्षैपछि एक्कासी बाँदलको निकट पुग्दा अवाक भएकी थिए ।

त्यो बालापनको म केवल बाँदलसँगको बातचितमा हराउथे, रमाउँथे । तर अहिलेको म कल्पनै कल्पनामा बाँदलको संसारमा वर्तमान खोज्नतिर लागेछु । सानो हुँदा मुमिन कार्र्टुनमा झैं बाँदलमाथि उडेको कल्पना गर्थे । त्यही बालापनकै बेला हो, मुमिन हेरेको अनि वायुपङ्खि घोडामा आउने राजकुमारको कथा सुनेको । सेतो बाँदलसँग माया बस्दा पनि त्यो वायुपङ्खी घोडामा आउने राजकुमारको अलिकति नि याद आएको थिएन । तर जब गोसार्ईकुण्ड यात्रामा एक्कासी सेतो बाँदलको स्पर्ष पाए, त्यही वायुपङ्खि घोडामा आउने राजकुमारको कथाको याद आयो । सोच्न थालेकि बालापनमा माया बसेको सेतो बाँदल राजकुमारको भेषमा आउँदै पो हो कि ? वायुपङ्खी घोडामा मलार्ई राखेर बाँदलमाथि सफर गराउँदै त्यो सुन्दर संसारमा लैजान्छ कि ? सोचमग्न भएकी थिए म । यति सुन्दर रहेछ बाँदलमाथिको संसार । त्यही भएर त भगवान पनि बाँदलमाथि रथ यात्रा गर्दा रहेछन् ।

त्यो सेतो बाँदलले पहाड र डाँडाँपाखा ढाकेर बनेको सुनौलो दृश्य देख्दा मलाई नि बाँदलमाथि यात्रा गर्न रहर लागेको थियो । सानोमा हेर्ने सेतो बाँदलले यति राम्रो संसार बनाएको थिएन । र पनि माया बसेको थियो । झन यो दृश्यमा बाँदलसँग माया नबस्ने कुरै भएन । जति हेर्यो तेति हेर्न मन लाग्ने । एक चोटी पनि आँखा झिमिक्क गर्न नपरे हुन्थ्यो जस्तो दृश्य । आँखामा आएको त्यो दृश्य काल्पनिक हो कि जस्तो लागेर आँखा मिच्थे । तर वास्तविकतामै म प्रकृतिको त्यो सुन्दर दृश्यमा हराईरहेकी थिए । जहाँ, सेतै भएर उभिएका हिमालहरु, केहि पर हिँउले खाएर कालै भै उभिएका पत्थरहरु अनि हरिया डाँडापाखालाई केहि हदसम्म देखाएर सेतै अनि सम्म पारेर बनेको बाँदलमाथिको संसार थियो । भगवानको संसार भन्दै चलचित्रमा हेर्ने दृश्य भन्दा कम थिएन । र त वायुपङ्खी घोडामा आउने राजकुमारको कल्पना गर्न बाध्य भए म ।

साँच्चै नै बर्षौपछि फेरी पनि सेतो बाँदलको मायामा मोहित भएकी थिए म ।

#सेतोबाँदल #माया

सम्बन्धित खवर