×

अस्ट्राजेनिकाको विवाद कायमै, विश्व स्वास्थ्य संगठन भन्छः खोप सुरक्षित छ


चैत्र ३,लाङटाङखबर/काठमाडौं- अक्सफोर्ड र अस्ट्राजेनिकाले संयुक्त रुपमा विकास गरेको कोभिड–१९ विरुद्धको अस्ट्राजेनिका खोपका कारण रगत जमेको भन्ने अपुष्ट विवाद कायमै रहेका बेला विश्व स्वास्थ्य संगठनका विज्ञहरुले खोप सुरक्षित रहेको दाबी गरेका छन् ।

कोभिड–१९ ले सङ्कट निम्त्याइरहेको युरोपेली क्षेत्रका कतिपय मुलुकले अस्ट्राजेनिका खोप लगाउन रोकेका छन् । पछिल्लो पटक युरोपका सबैभन्दा ठूला देशहरु जर्मनी, इटाली र फ्रान्सले पनि अस्ट्राजेनिका खोप लगाउन तत्काललाई रोक लगाएका छन् । युरोपकै अन्य कतिपय मुलुकले पनि अस्ट्राजेनिका खोप लगाउन बन्द गरिसकेका छन् ।

विश्वमा हाल २६ लाखभन्दा बढी मानिसको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भइसकेको छ ।

यहीबीच विश्व स्वास्थ्य संगठन, अस्ट्राजेनिका कम्पनी र युरोपेली औषधि नियामक निकाय ९इएमए०ले अस्ट्राजेनिका खोप सुरक्षित रहेको बताएका छन् । उनीहरुको भनाईमा खोप लगाएका व्यक्तिमा रगत जमेको भन्ने विवरणमा पूर्ण सत्यता छैन ।

विश्व स्वास्थ्य संगठनकी प्रमुख वैज्ञानिक सौम्या स्वामिनाथनले आमजनतालाई नआत्तिन र अस्ट्राजेनिका खोप लगाउने कार्यलाई निरन्तरता दिन आग्रह गरेका छन् । उनले भने, “अध्ययनबाट खोप र रगत जम्ने समस्याबीच कुनै सम्बन्ध देखिएको छैन ।”

विश्व स्वास्थ्य संगठन र इएमएका विज्ञहरुले अस्ट्राजेनिकाको खोप अभियानसँग सम्बन्धित विवरणको अलग अलग अध्ययन गर्ने बताएका छन् । इएमएले अस्ट्राजेनिकाको विवरणलाई लिएर के गर्ने भनेर दुई दिनपछि विशेष बैठक गर्न लागेको जनाएको छ ।

अस्ट्राजेनिकाको खोप अहिले विश्व बजारमा सबैभन्दा सस्तो छ । कमजोर आर्थिक स्थिति भएका मुलुकका लागि सहज भएकाले पनि यो खोपको माग बढ्दो छ । युरोप बाहेकका अन्य मुलुकहरुले यो खोप बढी प्रयोग गर्ने सम्भावना छ । इन्डोनेसियाले सोमबार अस्ट्राजेनिकाको खोप लगाउन रोकेको छ भने भेनेजुएलाले यो खोप प्रयोग नगर्ने घोषणा गरेको छ ।

यो खोप बेलायतको अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेनिकाले विकास गरेका हुन् । विश्वभर अस्ट्राजेनिकाको खोप करिब एक करोड १० लाख डोज लगाइएको छ, तर कुनै समस्या देखिएको छैन । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले युरोपका कतिपय मुलुकमा अस्ट्राजेनिका खोप लगाउन रोकिए पनि आफ्ना नागरिकलाई खोप लगाउन आग्रह गरेका छन् ।

कोभिड–१९ को नियन्त्रणमा निकै कठिनाई भइरहेकै अवस्थामा अस्ट्राजेनिकाको खोपको प्रभावकारितालाई लिएर मानिसमा त्रास बढेको छ ।

 

सम्बन्धित खवर