×

खाना पकाउने क्रममा आगोमा परेर जलेकी रसुवाका पेम्बा जीवन र मृत्युको दोसाधमा


चैत २४,लाङटाङखबर/काठमाडौं - गोसाईकुण्ड गाउँपालिक वडा नं ६ कि २२ वर्षिया पेम्बा वाङमो तामाङ आइतबार खाना पकाउने क्रममा आगोमा परेर जलेकी छिन् । चुल्होमा बसेर खाना पकाउँदै गरेकी उनलाई छारे रोगले च्यापेपछि आगोमा परेर जलेको उनको परिवारको भनाई छ ।

आगोमा परी टाउको र मुख जलेको उनलाई उपचारका लागि किर्तिपुरस्थित नेपाल क्लिफ्ट एण्ड बर्न सेन्टरमा राखिएको छ । स्वास्थ्य अवस्था नाजुक भएकोले उनलाई आइसीयुमा राखि उपचार गरिरहेको रसुवा कलाकार संघका अध्यक्ष शिशिर थोकरले बताए । आर्थिक अवस्था कमजोर रहेको पेम्बाको उपचारका लागि आर्थिक अभाव हुन थालेको थोकरको भनाई छ ।

दुई सन्तानकी आमा समेत रहेकी पेम्बाको उपचार खर्च जुटाउन उनको परिवारलाई धौधौ परेको छ । पेम्बाको उपचारमा केहि सहज होस् भनेर आफूले सकेको सहयोग रकम संकलन गरेर हस्तान्तरण गरेको अध्यक्ष थोकरले बताए । पेम्बाको उपचारका लागि आर्थिक सहयोग गरिदिन उनले सम्पूर्णमा सहयोग अपिल समेत गरेका छन् ।

सम्बन्धित खवर